धरान जाँदै गरेको सुमो धनकुटामा दुर्घटनाग्रस्त, एकको मृत्यु १० घाइते

932 Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेस्थित कामिटारमा सुमो दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। आइतबार बिहान करिब ९ बजे पिङडाँडा–ताङ्खुवाबाट धरानतर्फ जाँदै गरेको को १ ज २४९४ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की करिब ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार सुमोको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।

घाइते हुनेमा धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय चालक खगेन्द्र खत्री तथा छथर जोरपाटी गाउँपालिका–३ का धनमाया राई, ७ वर्षीय न्युहाङ सुब्बा, पुनम लिम्बू, २ वर्षीया आरध्या लिम्बू, २६ वर्षीया आईन्द्र लिम्बू, २७ वर्षीया भवानी लिम्बू, ४७ वर्षीय हेमबहादुर लिम्बू, ३० वर्षीय अबिन लिम्बू र २१ वर्षीय आषिश लिम्बू रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

मृतक लिम्बूको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले जानकारी दिनुभयो।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार