धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुँदैछ। कांग्रेस डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत रहेका ५२ वडामा वडा अधिवेशन गर्ने तयारी गरेको हो। जिल्ला कार्यसमितिले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने जनाएको छ।
तर अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस डडेल्धुराभित्र आन्तरिक विवाद चर्किएको छ। जिल्ला सभापति भीमबहादुर साउद पक्षले निर्धारित प्रक्रियाअनुसार अधिवेशन अघि बढाइरहेका बेला जिल्ला कार्यसमितिकै केही पदाधिकारी तथा नेताहरूले भने असन्तुष्टि जनाएका छन्।
जिल्ला उपसभापति डिल्लीराज जोशीको पहलमा शनिबार भएको छलफलमा उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सरस्वती खड्कालगायत नेताहरू सहभागी भएका थिए।
छलफलपछि असन्तुष्ट पक्षले यथास्थितिमा अधिवेशनमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ। उनीहरूले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
यता जिल्ला सभापति साउदसहितको पक्ष भने पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन सम्पन्न गर्ने तयारीमा छ। अधिवेशनका लागि आवश्यक संगठनात्मक तथा व्यवस्थापकीय तयारी पूरा गरिएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँपालिका तथा नगरपालिका अधिवेशनसमेत गर्ने तयारी छ। तर डडेल्धुरामा देखिएको आन्तरिक विवादका कारण अधिवेशनमा सबै पक्षको सहभागिता हुने वा नहुने विषय चासोको विषय बनेको छ।
देउवाको गृहजिल्लाका रूपमा डडेल्धुरा कांग्रेसको संगठनात्मक गतिविधिलाई राजनीतिक रूपमा पनि महत्वका साथ हेरिन्छ। त्यसैले अधिवेशनमा देखिएको विवादले आगामी जिल्ला तथा प्रदेशस्तरीय संगठनात्मक समीकरणमा समेत प्रभाव पार्न सक्ने नेताहरूको बुझाइ छ।