चमत्कार भएन भने कांग्रेस विभाजन निश्चित’ : पूर्णबहादुर खड्का

1k Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद गम्भीर मोडमा पुगेको बताएका छन्। उनले पार्टी एकता जोगाउन तत्काल संवाद र सहमतिको प्रयास आवश्यक रहेको उल्लेख गर्दै चमत्कारिक अवस्था नआए कांग्रेस विभाजन हुने संकेत गरेका छन्।

खड्काले कांग्रेसका दुई छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढे पार्टी विभाजन रोक्न कठिन हुने बताएका छन्। उनले पार्टी सभापति गगन थापालाई महाधिवेशनको प्रक्रिया केही समय स्थगित गरी पूर्वसभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेतासँग संवाद अघि बढाउन आग्रह गरेका छन्। 

उनले पार्टी एकता अझै सम्भव रहेको विश्वाससमेत व्यक्त गरेका छन्। तर दुई अलग महाधिवेशनको प्रक्रिया नरोकिए कांग्रेस विभाजनलाई रोक्न नसकिने उनको चेतावनी छ। खड्काले कांग्रेस विभाजनपछि एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य दलमा समेत विभाजनको अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। 

पार्टीभित्रको विवाद समाधानका लागि खड्का र सभापति थापाबीच संवाद भएको तथा विभिन्न पक्षका माग सम्बोधन गर्ने विषयमा छलफल अघि बढेको विवरण सार्वजनिक भएका छन्। यसै क्रममा देउवा पक्षका केही नेताहरू पनि थापा नेतृत्वको पार्टी संरचनासँग जोडिएका छन्। 

खड्काले वर्तमान राजनीतिक परिस्थितिबारे थप चिन्ता व्यक्त गर्दै देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढ्न सक्ने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। 

 
सम्बन्धित समाचार