एमाले यथास्थितिमा रहन सक्दैन, नेतृत्व हस्तान्तरण आवश्यक : भट्टराई

1.2k Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नेतृत्व हस्तान्तरणसहित व्यापक पुनर्जागरण आवश्यक रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले एमाले अब यथास्थितिमा रहन नसक्ने बताए। उनले पार्टीको नीति, संगठनात्मक ढाँचा, कार्यशैली तथा नेताहरूको बोली–वचनमा पुनरावलोकन गर्दै नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने धारणा राखे।

भट्टराईले निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठन गरिएको कार्यदलको काममा पार्टी अध्यक्षले हस्तक्षेप गरेको आरोपसमेत लगाए।

उनका अनुसार कार्यदलभित्रको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराएका थिए। तर अध्यक्षको असहमतिपछि त्यसबारे थप छलफल अघि बढ्न नसकेको उनको दाबी छ। त्यसको विकल्पका रूपमा उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको पनि भट्टराईले बताए।

पार्टी पुनर्गठनको आवश्यकता कार्यदलभित्र मात्र नभई देशभरका पार्टी सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट प्राप्त सुझावमा समेत देखिएको उनले बताए। विभिन्न तहबाट संकलित सुझावमा साझा रूपमा एमाले पुनर्गठित हुनुपर्ने आवाज आएको उनको भनाइ थियो।

भट्टराईले पार्टीभित्रको बहसलाई व्यक्तिकेन्द्रित बनाउनुभन्दा नीति, संगठन र नेतृत्वको भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए। यसैबीच उनले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लाग्दा सरकारको समग्र गति र दिशा सही ट्र्याकमा नरहेको टिप्पणी गरे।

सरकारले जनताका समस्या समाधान गर्न सहजकर्ताको भूमिका खेल्नुपर्ने भए पनि त्यसको सट्टा त्रास, भय र आतंक सिर्जना गरेर शासन गर्न खोजेको आरोप भट्टराईले लगाए।उनले सरकारको कार्यशैली र पार्टीको आन्तरिक पुनर्गठन दुवै विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

सम्बन्धित समाचार