कर्णाली, असोज ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानको मर्म र भावनाअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।
संविधान तथा राष्ट्रिय एकता दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य जिम्मेवारी भएको बताएका हुन् ।
उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा आम प्रदेशवासी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को प्रादेशिक सङ्कल्प पूरा गर्न कर्णाली प्रदेश सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै उनले प्रदेशको साधनस्रोतको समुचित उपयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर सिर्जनामा सरकारले प्राथमिकता दिएको बताए ।
संविधानले सुनिश्चित गरेका मौलिक अधिकार नागरिकको घरदैलोसम्म पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री शाहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन तथा विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले आन्दोलनका क्रममा घाइते तथा बेपत्ता भएका नागरिक र लोकतान्त्रिक तथा प्रदेश प्राप्तिको आन्दोलनको नेतृत्व गर्ने अग्रजप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले जनतालाई राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभूता जनतामा निहित गराएको संविधानले भौगोलिक रूपमा विकट भए पनि सम्भावनाले भरिपूर्ण कर्णालीलाई अधिकारसम्पन्न बनाएको उल्लेख गरे ।
संविधानको संरक्षण, प्रवर्द्धन र सफल कार्यान्वयनका लागि सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले संविधान दिवसलाई उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । -रासस