काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया वडा अधिवेशनबाट अघि बढेको छ । असोज ३ र ४ गते वडा अधिवेशन हुँदैछ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । कांग्रेसको अधिवेशन संरचना वडा तहबाट सुरु भएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्ने व्यवस्था छ ।
कांग्रेसको आधिकारिक महाधिवेशन संरचनाअनुसार प्रत्येक तहले माथिल्लो तहको अधिवेशनका लागि प्रतिनिधि छनोट गर्छ । अर्थात् वडाबाट छानिएका प्रतिनिधिले पालिका तहको अधिवेशनमा भाग लिन्छन्, त्यसपछि क्रमशः प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि छनोट हुने प्रक्रिया अघि बढ्छ ।
वडा अधिवेशनमा सम्बन्धित वडाका क्रियाशील सदस्य सहभागी हुन्छन् । वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि पनि चयन गर्छ ।
वडामा रहेका क्रियाशील सदस्यको संख्याका आधारमा क्षेत्रीय प्रतिनिधिको संख्या फरक हुन्छ । १५० वा सोभन्दा कम क्रियाशील सदस्य रहेको वडाबाट कम्तीमा २१ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ । क्रियाशील सदस्य बढ्दै जाँदा प्रतिनिधिको संख्या पनि बढ्दै जान्छ र ७५० भन्दा बढी सदस्य भएको वडाबाट बढीमा ५५ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् ।
प्रतिनिधि छनोटमा महिला, युवा, दलित, श्रमिक तथा पेशागत क्षेत्र र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वलाई समेत समेट्ने व्यवस्था गरिएको छ । ३० वर्ष नपुगेका युवाका लागि पनि छुट्टै प्रतिनिधित्वको व्यवस्था छ ।
वडाबाट चयन भएका प्रतिनिधि पालिका तहको अधिवेशनमा सहभागी हुन्छन् । पालिका अधिवेशनपछि प्रक्रिया प्रदेशसभा क्षेत्रीय अधिवेशनतर्फ अघि बढ्छ ।
कांग्रेसको संशोधित कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तय गरिएको छ । त्यसपछि असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चयन भएका महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय महाधिवेशनमा पार्टीको नेतृत्व चयन गर्न मतदान गर्छन् । यसरी वडा तहबाट सुरु भएको प्रतिनिधि छनोट प्रक्रिया केन्द्रीय नेतृत्व चयनसम्म जोडिन्छ ।
महाधिवेशन प्रतिनिधिले कांग्रेसको केन्द्रीय नेतृत्व चयनमा मतदान गर्नुका साथै महाधिवेशनका विभिन्न प्रक्रियामा सहभागी हुन्छन् । केन्द्रीय कार्यसमितिका निर्वाचित पदाधिकारी तथा सदस्य चयन गर्ने अधिकार महाधिवेशन प्रतिनिधिमार्फत प्रयोग हुन्छ ।
यसपटक संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यसमध्ये १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
नयाँ व्यवस्थामा ३५ वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने प्रावधान पनि राखिएको छ । प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलाबाट सात जना गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन् ।
यसरी कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया एकैपटक केन्द्रबाट सुरु हुँदैन । क्रियाशील सदस्य वडा अधिवेशन क्षेत्रीय प्रतिनिधि पालिका तथा क्षेत्रीय अधिवेशन महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन हुँदै नेतृत्व चयनको प्रक्रिया अघि बढ्छ ।