संविधान राज्य र नागरिकबीचको पवित्र करार हो : रवि लामिछाने

1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा समाजको पिँधमा रहेका तथा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यास र समयको आवश्यकताअनुसार यसको परिमार्जन तथा संशोधन हुन सक्ने बताएका हुन्।

‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।

लामिछानेले संविधानलाई अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार संविधानले परिकल्पना गरेका मौलिक हक तथा अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने अवस्था सिर्जना हुन सकेमा मात्रै लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता पुष्टि हुन्छ।

उनले नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको बताएका छन्।

‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ उनले भनेका छन्।

रास्वपाले सामाजिक लोकतन्त्रको माध्यमबाट नागरिकको जीवनमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि लामिछानेले उल्लेख गरेका छन्।

उनले विद्यमान बेथिति र कमजोरीलाई सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्न संविधान दिवस उपयुक्त अवसर भएको बताएका छन्।

बलियो राज्य निर्माणका लागि बलिया र प्रभावकारी संस्थाहरू आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अंग र आमनागरिकलाई आ–आफ्ना स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार