काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया आजदेखि सुरु हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभर वडा अधिवेशन हुँदैछ।
वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुनेछन्। कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्य मनोनयन गर्ने अधिकारसमेत दिइएको छ।
व्यवस्थाअनुसार गाउँपालिकाका वडा सभापतिले पाँचजना, नगरपालिका तथा उपमहानगरपालिकाका वडा सभापतिले छजना र महानगरपालिकाका वडा सभापतिले सातजना वडासदस्य मनोनयन गर्न पाउनेछन्।
वडा समितिमा कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ। त्यस्तै, समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ। अल्पसंख्यक, अपांगता भएका व्यक्ति तथा युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था छ।
वडा अधिवेशनबाट गाउँ, नगर, उपमहानगर र महानगरका वडा समितिका पदाधिकारी तथा सदस्यसँगै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्। यससँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहबाट नेतृत्व चयन तथा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ।
कांग्रेसले तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला अधिवेशन हुनेछ। त्यसपछि असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। सबै तहका अधिवेशन सम्पन्न भएपछि कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।
केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ। वडा तहबाट सुरु भएको अधिवेशन प्रक्रियाले आगामी केन्द्रीय नेतृत्व चयनको आधार तयार गर्नेछ।