संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाउन आङ्देम्बेको आग्रह

834 Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले संविधान संशोधनका नाममा यसको मूल मर्म र आधारभूत मूल्य–मान्यतामाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्। उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्नसमेत माग गरेका छन्।

आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाउन आग्रह गर्दै राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गर्न उपयुक्त हुन्छ।

संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार तथा संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै विभिन्न राजनीतिक दलले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विज्ञ, राजनीतिक दल, विभिन्न संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।

नेता आङ्देम्बेले संविधान कार्यान्वयनको विषय पनि गम्भीर रहेको बताएका छन्। उनले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

संवैधानिक अंगलाई कार्यपालिकाको प्रभावमा पार्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ। उनले संवैधानिक संस्थाको गरिमा कायम राख्दै व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आङ्देम्बेले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको मूल भावना र आधारभूत संरचनामाथि प्रहार गर्न नहुने बताएका छन्।

सम्बन्धित समाचार