भोटेकोसी बाढीपछि अपर त्रिशूली–१ को सुरुङमा १८ मजदुरको शव फेला

1.1k Shares

रसुवा । भोटेकोसी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता भएका मजदुरमध्ये थप १८ जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा शुक्रबार सुरुङभित्रबाट १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार सुरुङभित्रबाट ती शव निकालिएका हुन्। यसअघि बिहीबार पनि सोही क्षेत्रमा ६ जना मजदुरको शव फेला परेको थियो। त्यसपछि खोजी तथा उद्धारलाई निरन्तरता दिँदा थप शव भेटिएका हुन्।

अपर त्रिशूली–१ आयोजनाको ९ दशमलव ८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र शव फेला परेको आयोजनाका सामाजिकविज्ञ हर्क तामाङले जानकारी दिएका छन्।

उद्धार कार्यमा नेपाली सेना र जलविद्युत् आयोजनाका कर्मचारी संलग्न छन्। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी भइरहेको थियो।

यद्यपि बाढी आएको समयमा सुरुङभित्र काम गर्न कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। फेला परेका शवको पहिचान र सनाखतसमेत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। निर्माण कम्पनीले सुरुङमा पठाएका कामदारको नाम र संख्या व्यवस्थित रूपमा अभिलेख नराखेको हुँदा शव पहिचानमा समस्या भएको प्रहरीको भनाइ छ।

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना भोटेकोसी बाढीबाट प्रभावित प्रमुख आयोजनामध्ये एक हो। सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा लगातार शव फेला पर्न थालेपछि उनीहरूका परिवार तथा आयोजनासँग सम्बन्धित पक्ष शोकमा छन्।

बेपत्ता मजदुरको अवस्था यकिन गर्न तथा सुरुङभित्र थप खोजी गर्न उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार