एमालेका ३३ विभाग ९ महिनादेखि अपूर्ण, सयौँ नेता निष्क्रिय
1k
Shares
काठमाडौं । नेकपा एमालेका ३३ वटा केन्द्रीय विभाग गठन हुन नसक्दा पार्टीका सयौँ नेता तथा कार्यकर्ता जिम्मेवारीविहीन बनेका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि केन्द्रीय विभागहरूले पूर्णता पाउन नसकेको हो।
पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण भूमिका रहने केन्द्रीय विभागहरू लामो समयसम्म अपूर्ण रहँदा त्यसको असर नियमित कामकारबाहीमा समेत परेको बताइएको छ। विभागमा जिम्मेवारी पाउने अपेक्षामा रहेका कतिपय नेता अहिले निष्क्रिय अवस्थामा पुगेका छन् भने केही पार्टी गतिविधिबाट टाढिएका छन्।
एमालेभित्र पछिल्लो समय संगठन पुनर्गठन, नेतृत्व र पार्टीको आगामी दिशाबारे समेत बहस चलिरहेको छ। निर्वाचन परिणामपछि पार्टीको आन्तरिक अवस्था समीक्षा गर्न गठित कार्यदलले संगठनात्मक सुधार र पार्टीलाई पुनः सक्रिय बनाउने विषयमा सुझाव दिएको छ।
केन्द्रीय विभाग गठनमा भएको ढिलाइसँगै पार्टीका विभिन्न तहमा जिम्मेवारी बाँडफाँट र संगठन परिचालनको विषय पनि चर्चामा आएको छ। लामो समयसम्म विभागहरू अपूर्ण रहँदा पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत प्रभाव पर्न सक्ने नेताहरूले बताएका छन्।
एमालेले विभागहरूलाई पूर्णता दिने विषयमा निर्णय लिनुपर्ने भए पनि आन्तरिक राजनीतिक गतिविधि र संगठन पुनर्गठनसम्बन्धी बहसका कारण प्रक्रिया लम्बिएको देखिएको छ।