काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षमा प्रतिस्पर्धा नभए पनि जनमत पार्टीका अन्य पदमा भने निर्वाचन हुने भएको छ। आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनका लागि विभिन्न पदमा अपेक्षाभन्दा बढी उम्मेदवारी परेको छ।
प्रारम्भिक उम्मेदवार सूचीअनुसार सात उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव त्यागी, डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, एक जना निर्वाचित हुने महासचिव पदका लागि ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादव प्रतिस्पर्धामा छन्। उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकबीच प्रतिस्पर्धा हुने भएको छ।
सात जना निर्वाचित हुने सचिव पदमा भने १० जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदमा राउतको नेतृत्व सुनिश्चित भए पनि अन्य पदका लागि महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार महाधिवेशनबाट अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
वीरगञ्जमा हुने दोस्रो महाधिवेशनले पार्टीको आगामी नेतृत्व संरचना तय गर्नेछ। अध्यक्षमा राउत निर्विरोध भएसँगै अब उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत पदमा हुने प्रतिस्पर्धातर्फ महाधिवेशन प्रतिनिधिको ध्यान केन्द्रित भएको छ।