काठमाडौं । ने.क.पा. (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओली र पुनर्गठनको पक्षमा रहेका नेताहरूबीच शक्ति संघर्ष चर्किँदै जाँदा पार्टी विभाजनको सम्भावनाबारे समेत छलफल हुन थालेको छ।
अध्यक्ष ओलीले आफूनिकट नेताहरूसँगको छलफलमा एमालेभित्रको पछिल्लो विवाद गम्भीर अवस्थामा पुगेको भन्दै नयाँ ढंगले राजनीतिक गतिविधि अघि बढाउनुपर्ने संकेत गरेका छन्। उनले निकटहरूसँग ‘अब एमाले फुट्ने भयो, नयाँ तरिकाले आन्दोलनलाई अगाडि बढाउनुपर्छ’ भन्ने धारणा राखेको स्रोतको दाबी छ।
एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठनको विषय प्रमुख रूपमा उठेको छ। चुनावमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने र अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने मागसमेत केही नेता तथा कार्यकर्ताले उठाउँदै आएका छन्। यही विषयमा छलफल गर्न एमालेले १५ सदस्यीय कार्यदल गठन गरेको छ।
ओलीले भने आफूविरुद्ध भइरहेको गतिविधिलाई पार्टीभित्रको असन्तुष्टिमात्र नभई भूराजनीतिक चलखेलसँग समेत जोडेर हेर्ने गरेको स्रोतको दाबी छ। आफूनिकट नेताहरूसँग उनले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसमेत आफ्नो विपक्षमा उभिए पार्टी केन्द्रीय कमिटीमा बहुमत जुट्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
स्रोतका अनुसार ओलीले केन्द्रीय कमिटीमा आफ्नो पक्षमा रहेका र विपक्षमा जान सक्ने नेताहरूको अवस्थाबारे समेत हिसाबकिताब गरिरहेका छन्। नेताहरूलाई विभिन्न जिम्मेवारी दिने, मनाउने तथा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठनमा आफ्नो पक्षको बहुमत कायम गर्ने रणनीतिमा ओली रहेको निकट नेताहरूको दाबी छ।
ओलीले आफूलाई नेतृत्वबाट हटाइएको अवस्थामा पार्टीको नाम र चुनाव चिह्न आफ्नो पक्षमा नरहन सक्ने अवस्थाबारे पनि निकटहरूसँग छलफल गरेको स्रोतको भनाइ छ। त्यसैले नयाँ राजनीतिक विकल्पबारे समेत उनले छलफल अघि बढाएको बताइएको छ।
यसैबीच ओलीनिकट केही व्यवसायीले एमाले नेताहरूसँग पार्टी विभाजन रोक्न भन्दै संवाद अघि बढाएको दाबीसमेत गरिएको छ। झापाका व्यवसायी मदन अधिकारीसँग ओलीले पार्टीभित्र आफूलाई एक्ल्याउने प्रयास भइरहेको र सहयोग आवश्यक रहेको बताएको दाबी स्रोतले गरेको छ। अधिकारीले समेत एमाले विभाजनको अवस्था आए नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्न सकिने धारणा नेताहरूसँग राखेको बताइएको छ।
ओलीनिकट नेताहरूले भने पार्टी विभाजनको तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेका छन्। एमाले सचिव भानुभक्त ढकालले नेतृत्व परिवर्तनको विषयमा विष्णु पौडेल वा शंकर पोखरेलले कुनै औपचारिक फोरममा कुरा नराखेको बताएका छन्। उनका अनुसार पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि संविधान दिवसपछि सचिवालय र केन्द्रीय कमिटीमा छलफल गरेर विषय टुंग्याइनेछ।
एमालेभित्रको विवादकै बीच ओलीले पार्टीभित्र औपचारिक संरचनाभन्दा बाहिर ‘हाई–कमान्ड’ शैलीको समूह सञ्चालन गरेको आरोपसमेत केही नेताले लगाएका छन्। ओलीसहित केही शीर्ष नेताहरूको समूहले पार्टीका महत्वपूर्ण विषयमा अनौपचारिक रूपमा छलफल र निर्णय गर्ने गरेको उनीहरूको दाबी छ।
यद्यपि, एमालेको औपचारिक संरचनामा पार्टी पुनर्गठन, नेतृत्व र आगामी रणनीतिबारे अन्तिम निर्णय केन्द्रीय कमिटीबाटै हुने नेताहरूले बताएका छन्। पछिल्लो शक्ति संघर्षले भने एमालेभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे गम्भीर बहस सुरु भएको देखिएको छ।