१३ देशमा राजदूत सिफारिसको तयारी, आज मन्त्रिपरिषद् बैठक

2.9k Shares

भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत पठाउने तयारी

काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा राजनीतिक कोटाअन्तर्गत विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने प्रस्ताव पेस हुनेछ। भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया र अस्ट्रियालगायत मुलुकका लागि राजदूत सिफारिस गर्ने तयारी छ।

कुन उम्मेदवारलाई कुन देशका लागि सिफारिस गर्ने भन्ने विषय भने अन्तिम रूपमा टुंगिन बाँकी रहेको छ। केही सञ्चारमाध्यमका अनुसार भारत, चीन र अमेरिकाका लागि क्रमशः निश्चलनाथ पाण्डेय, कल्याणराज शर्मा र चिरनजंग थापाको नाम चर्चामा रहे पनि उनीहरूको मुलुकगत जिम्मेवारी निश्चित भइसकेको छैन।

परराष्ट्र मन्त्रालयले यसअघि गत जेठ १४ गते १३ मुलुकका लागि राजदूत नियुक्त गर्न आवेदन तथा सिफारिस आह्वान गरेको थियो। अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि आवेदन मागिएको थियो।

मन्त्रालयका अनुसार आवेदनका क्रममा करिब २ हजार ७ सय उम्मेदवारबाट झन्डै ४ हजार आवेदन परेको थियो। सरकारले पहिलो चरणमा राजनीतिक नियुक्तितर्फ राजदूत सिफारिस गर्ने र त्यसपछि परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञमध्येबाट राजदूत सिफारिस गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद्बाट नाम सिफारिस भएपछि संसदीय सुनुवाइको प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

 
 
 
सम्बन्धित समाचार