काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि बीमा क्षेत्रमा २३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ। निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीमध्ये हालसम्म ८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको जनाइएको छ।
आन्दोलनका क्रममा निजी सम्पत्ति, सवारीसाधन, व्यवसायिक संरचना तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेपछि बीमा कम्पनीहरूमा ठूलो संख्यामा दाबी परेको हो। क्षतिको मूल्याङ्कन, सर्भे तथा आवश्यक कागजातको जाँचपछि बीमा कम्पनीहरूले दाबी भुक्तानी अघि बढाइरहेका छन्।
नेपाल बीमा प्राधिकरणले बीमितलाई सहज रूपमा दाबी भुक्तानी उपलब्ध गराउन कम्पनीहरूलाई प्रक्रिया छरितो बनाउन निर्देशन दिँदै आएको छ। यसका साथै दाबीको मूल्याङ्कन र भुक्तानी प्रक्रियाको अनुगमनसमेत भइरहेको छ।
यसअघि आन्दोलनबाट भएको क्षतिमा ३ हजारभन्दा बढी बीमा दाबी परेको विवरण सार्वजनिक भएको थियो। तीमध्ये सम्पत्ति, मोटर, इन्जिनियरिङ तथा ठेक्का जोखिम, परिवहन र अन्य बीमाअन्तर्गतका दाबी रहेका छन्।