संयुक्त राष्ट्र महासभामा नेपाल : जलवायु सङ्कटमा विश्वव्यापी ‘न्यारेटिभ सिफ्ट’ गर्ने तयारी

1k Shares

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु सङ्कटबाट नेपालले भोगिरहेको असरलाई विश्वमञ्चमा प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। विशेषगरी जलवायु न्याय, हिमाली क्षेत्रमाथि परेको प्रभाव, जलवायु वित्त तथा प्राकृतिक विपत्तिबाट भएको क्षतिका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमाली क्षेत्रमा देखिएका परिवर्तनलगायतका विपद्को जोखिम बढिरहेको विषय महासभामा उठाउने भएको छ। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई समेत जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

सरकारका अनुसार नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ‘लस एन्ड ड्यामेज’सम्बन्धी कोषलगायत अन्तर्राष्ट्रिय संयन्त्रबाट तत्काल र उचित वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायु अनुकूल कृषि, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका लागि विकसित मुलुकबाट सहयोग माग्ने तयारी गरिएको छ।

महासभाका क्रममा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयमा उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा विशेषगरी पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसबाट उत्पन्न जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले महासभाको उच्चस्तरीय सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलले जलवायु संकटसँगै नेपालका राष्ट्रिय प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोगका विषयसमेत विश्व समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार