शेखर र पूर्णबहादुरको आग्रहपछि कांग्रेस महाधिवेशनको मिति सर्ला त ?

736 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तोकिएको समयमै हुने वा सारिने भन्ने विषयमा पार्टीभित्र बहस चर्किएको छ। नेता डा. शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनको मिति सारेर सहमतिको वातावरण बनाउनुपर्ने धारणा राखेपछि यस्तो चर्चा बढेको हो।

कांग्रेसको संस्थापन पक्षले भने निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। वडा अधिवेशन सुरु हुने चरणमा पुगिसकेको अवस्थामा मिति परिवर्तन गर्ने विषय थप जटिल बनेको देखिन्छ।

यसअघि कांग्रेस नेता गगन थापाले १५औँ महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट धारणा सार्वजनिक गरेका थिए। उनले संविधान, पार्टी विधान र अदालतको आदेशका कारण महाधिवेशनको मिति पछि सार्ने अवस्था नरहेको बताएका थिए।

त्यस्तै, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि महाधिवेशन अब मंसिरसम्म सार्न सम्भव नरहेको बताएका थिए। उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया थप लम्ब्याउन कठिन छ।

अर्कोतर्फ, शेखर कोइराला पक्षले पार्टी एकताका लागि सहमति खोज्नुपर्नेमा जोड दिँदै आएको छ। कोइरालाले पार्टी एकताको महाधिवेशन नभएसम्म आफू कुनै पनि महाधिवेशनमा सहभागी नहुने धारणा राखेको उनका स्वकीय सचिवले बताएका छन्।

यसबीच सर्वोच्च अदालतले महाधिवेशन रोक्न माग गर्दै परेको निवेदन दर्ता नगर्ने निर्णय कायम राखेपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो थप स्पष्ट भएको छ।

यसकारण शेखर र पूर्णबहादुरको आग्रहका बाबजुद महाधिवेशनको निर्धारित मिति परिवर्तन हुन्छ कि हुँदैन भन्ने विषय कांग्रेसभित्रको सहमति र आगामी संस्थागत निर्णयमा निर्भर रहने देखिएको छ।

 
 
 
सम्बन्धित समाचार