काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा विभाजन देखिएको छ। पार्टीका महासचिव केशवकुमार झासहित ९ जना नेता पार्टीबाट अलग भएका हुन्। उनीहरूले पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति र नेतृत्वप्रतिको असन्तुष्टि जनाउँदै अलग भएको बताइएको छ।
महासचिव झासहित पार्टीका केही केन्द्रीय तहका नेताहरूले पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्। उनीहरूले अब नयाँ राजनीतिक अभियानमा अघि बढ्ने तयारी गरेको जनाइएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले यसअघि अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा केन्द्रीय पदाधिकारीको संरचना विस्तार गरेको थियो। गत साउनमा महतोले केन्द्रीय पदाधिकारीको सूची सार्वजनिक गर्दा केशवकुमार झासहित पाँच जनालाई महासचिवको जिम्मेवारी दिइएको थियो।
महासचिवमा झासँगै मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार मेहता र अनिलकुमार महासेठ रहेका थिए। पार्टीले तीन वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष, सहमहासचिव, सचिवलगायत पदाधिकारीसमेत चयन गरेको थियो।
यसअघि पनि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विभिन्न तहका नेता तथा कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका थिए। गत माघमा केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य तथा धनुषा जिल्ला कार्यसमितिका सदस्यसहित दुई दर्जनभन्दा बढी नेताले पार्टी छाडेको घोषणा गरेका थिए।
पार्टी छाड्ने नेताहरूले नेपालको समसामयिक राजनीतिक परिस्थितिमा नयाँ राजनीतिक यात्राको आवश्यकता रहेको बताउँदै आएका छन्। उनीहरूले दलगत सीमाभन्दा माथि उठेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने विषयमा समेत संकेत गरेका छन्।
पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपालभित्र नेतृत्व, संगठनको दिशा र राजनीतिक कार्यदिशालाई लिएर असन्तुष्टि देखिँदै आएको छ। पछिल्लो समूहको बहिर्गमनले महतो नेतृत्वको पार्टीभित्रको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ।
यद्यपि पार्टीबाट अलग भएका ९ नेताले अब कुन राजनीतिक अभियान वा संगठनमा आबद्ध हुने भन्ने विषयमा औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गर्न बाँकी रहेको छ।