देउवा महाधिवेशन रोक्दै गगन समूहसँग संवाद गर्न चाहन्छन् : कांग्रेस नेता

764 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि दुवै पक्षले तय गरेका महाधिवेशन स्थगित गरेर संवाद र छलफलमा बस्नुपर्ने बताएका छन्।

पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने लेखकले देउवा पार्टी विभाजनको पक्षमा नरहेको दाबी गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन संवाद आवश्यक रहेको बताए।

उनका अनुसार देउवाको चाहना सभापति गगन थापा पक्षले भोलिका लागि तय गरेको महाधिवेशन स्थगित गरेर संवादमा आओस् भन्ने छ।

‘देउवा दाइको चाहना गगनजीहरूले भोलिको महाधिवेशन रोकेर संवादमा आइदिए हुन्थ्यो भन्ने छ। दाइ पार्टी विभाजनको पक्षमा पटक्कै हुनुहुन्न,’ लेखकले भने, ‘संवाद गरेर पार्टीलाई एक बनाएर जान पाए हुन्थ्यो भनेर उहाँ गम्भीर चिन्तन गरिरहनुभएको छ।’

लेखकले गगन थापा पक्ष र देउवा पक्ष दुवैले तय गरेका महाधिवेशन स्थगित गरी बीचमा बसेर छलफल र विमर्श गर्नुपर्ने बताए। उनका अनुसार दुवै पक्ष संवादका लागि तयार भए कांग्रेसभित्रको विवाद समाधान हुने सम्भावना रहेको छ।

‘गगनजीहरूले भोलिको महाधिवेशन स्थगित गर्नुहोस्। यतापट्टिबाट पनि तोकिएको महाधिवेशन स्थगित होस्। दुवै स्थगित भएपछि बीचमा बसेर छलफल, संवाद र विमर्श गरौँ,’ उनले भने।

लेखकले नेतृत्वमा रहेका गगन थापाले संवादका लागि बढी लचकता देखाउनुपर्ने धारणा पनि राखे। ‘उहाँ नेतृत्वमा हुनुहुन्छ। त्यसैले उहाँले बढी इच्छा जाहेर गर्नुपर्छ,’ उनले भने।

‘गगनजीहरू संवाद गर्न तयार देखिनुभएको छैन’

कांग्रेसभित्रको पछिल्लो विवादबारे अहिलेसम्म कुनै नयाँ सहमति बन्न नसकेको लेखकले बताए। उनका अनुसार गगन थापा पक्ष संवाद र वार्ताका लागि तयार नदेखिएको अवस्था छ।

गगन थापासँग पूर्वसभापति देउवाको भेटघाटको कुनै कार्यक्रमसमेत तय नभएको लेखकले बताए।

‘अहिलेसम्म केही विकास भएको जानकारी छैन। सभापतिज्यूले पनि त्यस्तो केही कुरा गर्नुभएको छैन। गगनजीहरू पनि संवाद गर्न तयार हुनुहुन्न,’ उनले भने।

गगन थापा पक्षले तोकेको महाधिवेशन अगाडि बढेमा सहमति जुटाउन कठिन हुने लेखकको भनाइ छ। शीर्ष नेता र सभापतिलाई पाखा लगाएर हुने महाधिवेशनप्रति उनले प्रश्नसमेत उठाएका छन्।

‘उहाँहरूले भोलि महाधिवेशन गर्नुभयो भने मिल्न गाह्रो हुन्छ, मिलिँदैन। अन्यायपूर्ण अवस्थामा त शीर्ष नेता र सभापति जानुहुन्न नि,’ लेखकले भने।

उनले कांग्रेसभित्रको विवाद समाधानका लागि अन्तिम समयसम्म पनि संवादको ढोका खुला राख्नुपर्ने बताए।

‘संवाद भयो भने मज्जाले एकता हुन्छ’

लेखकले संवाद सुरु भए कांग्रेसमा एकता कायम गर्न सकिने दाबी गरे। उनका अनुसार दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगित गरी छलफल सुरु गर्नु नै अहिलेको समाधानको बाटो हुन सक्छ।

‘संवाद भयो भने मज्जाले एकता हुन्छ। संवाद गर्नका लागि मैले भनिरहेको छु, दुवै पक्षले आआफ्ना महाधिवेशन स्थगित गरेर संवाद गर्नुहोस्, छलफल गर्नुहोस्,’ उनले भने।

कांग्रेस संवाद, विमर्श, छलफल र विधिबाट चल्ने पार्टी भएकाले अहिलेको विवाद पनि छलफलबाटै समाधान गर्नुपर्ने लेखकको भनाइ छ।

देउवा पक्षका कतिपय नेता गगन थापा पक्षमा जोडिएको विषयमा लेखकले त्यो सम्बन्धित नेताहरूको व्यक्तिगत निर्णय भएको बताए। तर शीर्ष नेतृत्वलाई पाखा लगाएर अघि बढ्ने प्रक्रियाले पार्टीको एकता बलियो नहुने उनको तर्क छ।

लेखकका अनुसार देउवा, प्रकाशमान सिंह, प्रकाशशरण महत, शशांक कोइराला, दीपक खड्का, कान्छाराम तामाङ, मोहनबहादुर बस्नेत र सीता गुरुङलगायत नेताहरू देउवाको पक्षमा रहेका छन्।

लेखकले अन्तिम पटक पनि गगन थापालाई देउवासँग संवाद गर्न आग्रह गरेका छन्। पार्टी एकता कायम राख्ने हो भने नेतृत्व तहमा छलफल र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

‘शेरबहादुर दाइ पनि गगनजीहरूले भोलिको महाधिवेशन स्थगित गरेर संवादमा आउनुभयो भने मिलनबिन्दु आउँछ भन्ने पक्षमा हुनुहुन्छ। मेरो आग्रह के छ भने गगनजीहरूले देउवा दाइसँग एकपटक संवाद गरून्,’ लेखकले भने।

सम्बन्धित समाचार