काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरो तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे सिंहदरबारमा छलफल भएको छ। विपद्पछि उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन समितिको आवश्यकता औँल्याइएको हो।
यसअघि विभिन्न दलको सर्वदलीय बैठकले बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था अध्ययन, अनुगमन तथा समन्वयका लागि एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति गरेको थियो। समितिमा संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको छ।
समितिले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, पुनर्वास तथा पुनर्निर्माणको अवस्थाबारे अध्ययन र अनुगमन गर्ने बताइएको छ। साथै आवश्यक सुधारका विषयमा सरकारलाई सुझाव दिने गरी समितिको कार्यादेश (टीओआर) तयार गर्ने तयारी छ।
सर्वदलीय छलफलमा प्रधानमन्त्रीको आगामी संयुक्त राष्ट्रसंघ भ्रमणका क्रममा नेपालले जलवायु न्याय तथा वातावरणीय क्षतिबापत क्षतिपूर्तिको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो।