आलोचनापछि जापान यात्रा रद्द, एसियन गेम्समा नजाने खेलकुदमन्त्री पोखरेल

1.8k Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल २०औँ एसियन गेम्सका लागि जापान नजाने भएका छन्। विपद्का कारण मन्त्रालयमा कामको चाप बढेको भन्दै उनले जापान नजाने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

यसअघि मन्त्री पोखरेल नेपाली टोलीको अफिसियलका रूपमा एसियन गेम्सका लागि जापान जाने सूचीमा थिए। तर, उनको विदेश भ्रमणलाई लिएर आलोचना भएपछि उनले अन्ततः जापान नजाने निर्णय गरेका हुन्।

मन्त्रीको सचिवालयका एक सदस्यका अनुसार पोखरेलले सुरुमा समय मिलेको अवस्थामा एसियन गेम्समा जाने बताएका थिए। तर, अहिले विपद्पछिको अवस्था र मन्त्रालयको बढ्दो कार्यबोझका कारण उनको जापान भ्रमण नहुने निश्चित भएको हो।

यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले पनि एसियन गेम्सका लागि जापान नजाने निर्णय गरिसकेका छन्। उनले दशौँ राष्ट्रिय खेलकुदको तयारीलाई प्राथमिकता दिनुपर्ने भएकाले जापान भ्रमण नगर्ने बताएका छन्।

मेहताका अनुसार उनी जापानमा करिब १५ देखि २० दिन बस्दा दशौँ राष्ट्रिय खेलकुदको तयारी प्रभावित हुन सक्छ। ‘म जापान जानु भनेको दशौँ सार्नु हो,’ उनले भनेका छन्, ‘म नजाँदा एसियन गेम्स रोकिन्न, तर दशौँ राष्ट्रिय खेलकुदको काम प्रभावित हुन सक्छ।’

मन्त्री पोखरेल र सदस्य सचिव मेहता दुवैले जापान भ्रमणबाट पछि हटेसँगै एसियन गेम्समा नेपाली प्रतिनिधिमण्डलको सहभागिता र व्यवस्थापनको विषय पनि चर्चामा आएको छ। यसअघि जापान जाने टोलीमा खेलाडी तथा प्राविधिक जनशक्तिको तुलनामा कर्मचारी र पदाधिकारीको संख्या बढी भएको भन्दै समेत प्रश्न उठाइएको थियो।

२०औँ एसियन गेम्समा नेपाली खेलाडीहरूको सहभागिताको तयारी भइरहेका बेला मन्त्री र राखेप सदस्य सचिवले भने आ–आफ्नो जिम्मेवारी तथा स्वदेशमै रहेका प्राथमिक कामलाई कारण देखाउँदै जापान नजाने निर्णय गरेका हुन्।

सम्बन्धित समाचार