काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिका कारण दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएपछि उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति नियमित बनाउने कामलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण स्थगित गरेका हुन्।
बाढीबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धारमा प्रभावकारी समन्वय गर्नुका साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति व्यवस्थित गर्ने र प्रभावित निजी ऊर्जा उद्यमीलाई सहजीकरण गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेको छ।
मन्त्री श्रेष्ठलाई सेप्टेम्बर १५ देखि १७ तारिखसम्म दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो।
मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।