काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभामा सांसदहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि जनाएका छन्। उनले संसद् भवनमा खाली कुर्सी धेरै देखिन थालेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका हुन्।
दुलालले सामाजिक सञ्जालमार्फत संसद्मा हुने अधिकांश प्रस्तावको निर्णय प्रक्रियामा सत्तापक्षको सक्रियता र प्रतिपक्षको मौन समर्थन रहने गरेको बताएका छन्।
उनका अनुसार संविधानको धारा ९४ ले कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाका कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ। प्रतिनिधिसभामा हाल ७० जना सांसदको उपस्थिति निर्णय प्रक्रियाका लागि आवश्यक हुने उनको भनाइ छ।
तर, संसद्मा १८३ सदस्य रहेको सत्तापक्षका अधिकांश सांसद नै छलफलका क्रममा अनुपस्थित हुने गरेको दुलालले उल्लेख गरेका छन्।
उनले भनेका छन्, “संसद्मा १८३ सदस्य रहेको सत्ता पक्षको अधिकांश समय ३० जना वा त्योभन्दा पनि कम संख्यामात्र उपस्थितिमा छलफल चलिरहेको हुन्छ।”
प्रतिपक्षी दलहरूले निगरानी नगर्ने हो भने पटक–पटक एक चौथाइभन्दा कम सांसदको उपस्थितिमै समेत प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको दुलालको आरोप छ।
संसद्को प्रभावकारिता कायम गर्न सांसदहरूको नियमित उपस्थिति र जिम्मेवार भूमिकालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उनले संसद् जस्तो महत्वपूर्ण राज्य संस्थामा सांसदहरूको न्यून उपस्थितिले लोकतान्त्रिक अभ्यासप्रति नै प्रश्न उठाउने अवस्था सिर्जना गर्न सक्ने संकेत गरेका छन्।