कांग्रेस कमजोर बनाउने गतिविधिमा मूकदर्शक बन्दिनँ : देउवा

946 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको व्यक्तिगत लोभ नरहेको स्पष्ट पार्दै पार्टीलाई कमजोर र विभाजित बनाउने अवैधानिक गतिविधि भएमा आफू चुप लागेर नबस्ने बताएका छन्।

विशेष अपिल जारी गर्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा विधिसम्मत रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उल्लेख गरेका छन्।

पार्टीको विधि, विधान, पद्धति तथा केन्द्रीय समितिको निर्णयविपरीत एकपक्षीय रूपमा विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका क्रममा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अदालतको अन्तिम निर्णय आउनुअघि नै महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी र नैतिक दृष्टिले उचित नहुने बताएका छन्।

उनले अवैधानिक रूपमा विशेष महाधिवेशन अघि बढाउने पक्षधर समूहले आयोजना गर्ने कुनै पनि महाधिवेशन वा गतिविधिमा सहभागी नहुन देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले पार्टीभित्र देखिएको वर्तमान मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न पनि नेता–कार्यकर्तालाई अपिल गरेका छन्।

विपत्तिपछि पुनर्निर्माणमा एकजुट हुन आग्रह

देउवाले भोटेकोशी विपत्तिपछि प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। उनले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला देखिएको राष्ट्रिय एकताको भावनालाई पुनः कायम गर्न सरकारसँग आग्रह गरेका छन्।

विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘केही भएन’ भन्ने भाष्यप्रति देउवाको असहमति

मुलुकमा ‘केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको भन्दै देउवाले विगत तीन दशकको नेपाल र वर्तमान नेपालको तुलनात्मक मूल्यांकन गर्न आग्रह गरेका छन्।

उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संशाधन विकास तथा गरिबी न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलहरूले सीमित स्रोत र साधनका बीच मुलुकको विकासमा योगदान गरेको विषयलाई बिर्सन नहुने उनको भनाइ छ।

यद्यपि जनताको बढ्दो अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न र रोजगारीका अवसर सिर्जना गर्न राजनीतिक दल तथा सरकार नयाँ सोच र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा देउवाले जोड दिएका छन्।

सम्बन्धित समाचार