काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिका अधिकांश पदाधिकारीले उनको समूह छाडेका छन्। उनीहरू सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षमा खुलेका हुन्।
कांग्रेसले आगामी १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्दैछ। महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र समूहगत समीकरण तीव्र रूपमा परिवर्तन भइरहेको छ।
१४औँ महाधिवेशनमा देउवा पक्षबाट सभापतिसहित ८ जना पदाधिकारी निर्वाचित भएका थिए। उपसभापति पूर्णबहादुर खड्कासहित सहमहामन्त्रीहरू किशोरसिंह राठोर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा पक्षबाट निर्वाचित भएका थिए। देउवाले मनोनीत गरेका कोषाध्यक्ष उमेश श्रेष्ठसमेत गरी तत्कालीन देउवा पक्षका पदाधिकारीको संख्या १४ पुगेको थियो।
तर अहिले उक्त समूहका अधिकांश नेता देउवा पक्षमा छैनन्। पूर्वउपसभापति पूर्णबहादुर खड्का संस्थापन पक्षतर्फ ढल्किएका छन्। यद्यपि सर्वोच्च अदालतमा पुनरावलोकन रिट दिएको कारण आफू १५औँ महाधिवेशनमा प्रत्यक्ष सहभागी नहुने उनको धारणा छ। उनले सभापति थापा नेतृत्वमा हुने नियमित महाधिवेशनप्रति शुभेच्छा व्यक्त गरेको नेताहरूले बताएका छन्।
खड्कासँगको परामर्शपछि देउवा निकटका नेताहरूले पनि १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुने तयारी गरेका छन्। कांग्रेस नेता श्याम घिमिरेका अनुसार विशेष महाधिवेशनको विपक्षमा रहेका र संस्थापनले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुने पूर्वकेन्द्रीय सदस्यको संख्या ४० भन्दा बढी छ।
१४औँ महाधिवेशनमा देउवा पक्षबाट निर्वाचित सहमहामन्त्री भीष्मराज आङदेम्बे अहिले संस्थापन पक्षमा छन्। महिला क्लस्टरबाट निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ पनि सभापति थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुने भएकी छन्।
त्यस्तै, मधेशी क्लस्टरबाट सहमहामन्त्री बनेका महेन्द्र यादव पनि संस्थापन पक्षमा लागेका छन्। दलित क्लस्टरबाट निर्वाचित जीवन परियार, जो शेखर कोइराला निकट मानिन्थे, उनी पनि अहिले संस्थापन पक्षमा छन्।
मुस्लिम क्लस्टरबाट निर्वाचित फरमुल्लाह मन्सुर विशेष महाधिवेशनका प्रमुख अगुवामध्ये एक बनेका छन्। अर्कोतर्फ खसआर्य क्लस्टरबाट निर्वाचित किशोरसिंह राठोर भने देउवा पक्षसँग दूरी बढाउँदै अलग राजनीतिक बाटोमा देखिएका छन्।
शेखर कोइराला प्यानलबाट १४औँ महाधिवेशनमा उपसभापति निर्वाचित धनराज गुरुङ पनि संस्थापनले तय गरेको महाधिवेशनमा सहभागी हुने मनस्थितिमा रहेको कांग्रेस नेताहरूले बताएका छन्। उनले सदस्यता अद्यावधिक गरिसकेका छन् भने शेखर कोइरालाको निर्णयको प्रतीक्षा गरिरहेको बताइएको छ।
यसैगरी, देउवा–सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेल विशेष महाधिवेशनपछि संस्थापन पक्षमा खुलेर महामन्त्री बनेका छन्। उनी क्रियाशील सदस्यता व्यवस्थापन तथा विधान संशोधन प्रक्रियामा समेत सक्रिय छन्।
हाल देउवा पक्षमा पूर्वपदाधिकारीमध्ये उमाकान्त चौधरी मात्रै रहेको उल्लेख गरिएको छ। तर उनी पनि संस्थापन इतरको छुट्टै महाधिवेशनको पक्षमा रहेको बताइएको छ।
देउवा समूहको प्रभाव पदाधिकारीमा मात्रै सीमित नभई प्रदेश र जिल्ला तहमा समेत कमजोर बन्दै गएको देखिन्छ। विगतमा देउवा पक्षबाट निर्वाचित भएका प्रदेश सभापतिहरूमध्ये अधिकांशले समूह परिवर्तन गरिसकेका छन्। जिल्ला सभापतिहरूमा पनि पूर्वसंस्थापन पक्षले आफ्नो प्रभाव जोगाउन नसकेको समाचारमा उल्लेख छ।
१५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको यो समूहगत फेरबदलले आगामी नेतृत्व चयन र पार्टीको शक्ति समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।