काठमाडौं । बाढीपहिरोजस्ता विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरेको उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलका सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेताहरूले सत्तारुढ दलका सभापतिले नै संसद्मा प्रस्ताव गरेको विषय सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
लामिछानेले भोटेकोशी बाढीपछि भदौ ११ गते बसेको सर्वदलीय बैठकमा उद्धार, राहत र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए। उनले भदौ २४ गते प्रतिनिधिसभाको बैठकमा समेत उक्त प्रस्ताव दोहोर्याएका थिए। तर, हालसम्म संयन्त्र गठनका लागि कुनै ठोस प्रक्रिया अघि नबढेको विपक्षी सांसदहरूको भनाइ छ।
बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले लामिछानेको प्रस्ताव कार्यान्वयन नभएको विषय उठाउँदै सरकारमाथि प्रश्न गरे। उनले शक्तिशाली सत्तारुढ दलका सभापतिले अन्तर्राष्ट्रिय कूटनीतिक पहलसहित राष्ट्रिय एकता कायम गर्दै भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धारदेखि पुनर्निर्माणसम्म पहल गर्ने घोषणा गरे पनि त्यसअनुसार काम नभएको बताए।
दुलालले सरकारलाई लक्षित गर्दै प्रस्ताव कार्यान्वयन नगर्नुको कारणबारे प्रश्न उठाए। उनका अनुसार संसद्मा घोषणा हुँदा तालीसहित स्वागत गरिएको विषय अहिले कार्यान्वयनको चरणमा पुग्न सकेको छैन।