काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सहमतिको सम्भावना हुँदाहुँदै संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।
मंगलबार सातबुँदे अपिल जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको दाबी गरेका छन्।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अन्तिम निर्णय नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीत हुने देउवाको जिकिर छ। सहमतिको पर्याप्त सम्भावना हुँदाहुँदै हतारमा गरिएको एकपक्षीय निर्णयले कांग्रेसलाई विभाजनतर्फ लैजाने उनको भनाइ छ।
देउवाले नेपाली कांग्रेसले २००७ सालदेखि हालसम्मका राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको स्मरण गर्दै पार्टीको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्त्वाकांक्षाका कारण कमजोर हुन नहुने बताएका छन्। निर्वाचन परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वको लोकप्रियताको दाबीलाई समेत असत्य सावित गरिसकेको उनको दाबी छ।
आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको स्पष्ट पार्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन्।
पार्टीलाई विभाजन वा कमजोर बनाउने गतिविधिमा आफू मुकदर्शक भएर बस्न नसक्ने उल्लेख गर्दै उनले १४औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
देउवाले आफूहरूको पक्षबाट आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने बताएका छन्। यता संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।