काठमाडौं । यमनका इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीच पछिल्ला दिनमा तनाव तीव्र रूपमा बढेको छ। हुथीहरूले साउदी अरबका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि साउदी अरबले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
पछिल्लो आक्रमणमा साउदी अरबको दक्षिणी क्षेत्रमा रहेका सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको बताइएको छ। हुथीहरूले खामिस मुशैत क्षेत्रमा रहेको सैन्य आधारमा दर्जनौँ क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको दाबी गरेका छन्। आक्रमणबाट १३ जना सर्वसाधारण घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि हुथी विद्रोहीले यमनको पश्चिमी तटीय क्षेत्रमा आफ्नो गतिविधि बढाउँदै रणनीतिक स्थानहरूमा नियन्त्रण विस्तार गरेका छन्। लाल सागर र बाब अल–मन्देब जलमार्ग नजिकका क्षेत्रमा उनीहरूको प्रभाव बढ्दै गएपछि यसले क्षेत्रीय सुरक्षासँगै अन्तर्राष्ट्रिय जल तथा ऊर्जा आपूर्तिमा समेत जोखिम बढाएको छ।
हुथीहरूको आक्रमणपछि साउदी नेतृत्वको सेनाले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रमा हवाई कारबाही तीव्र बनाएको छ। हुथीहरूले साउदी कारबाहीको जवाफस्वरूप थप आक्रमण गर्ने चेतावनी दिइरहेका छन् भने साउदी पक्षले आफ्नो भूमिमा हुने आक्रमण सह्य नहुने बताएको छ।
हुथी–साउदी तनावको प्रभाव सैन्य क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी ऊर्जा बजारमा समेत देखिन थालेको छ। साउदी अरबको महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको आक्रमणका कारण तेल आपूर्तिमा थप दबाब परेको छ। त्यससँगै कच्चा तेलको मूल्य बढेको र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अवरोधको चिन्ता बढेको छ।
बाब अल–मन्देब र लाल सागर क्षेत्र विश्व व्यापार तथा तेल ढुवानीका लागि महत्वपूर्ण समुद्री मार्ग भएकाले त्यहाँको अस्थिरताले एसिया, अफ्रिका तथा युरोपतर्फ हुने ऊर्जा आपूर्तिमा असर पार्न सक्ने विश्लेषण गरिएको छ। हुथीहरूको पछिल्लो सैन्य विस्तारले यस क्षेत्रमा थप ठूलो क्षेत्रीय द्वन्द्वको जोखिमसमेत बढाएको छ।
यमनमा बढ्दो युद्धका कारण सर्वसाधारणको अवस्था पनि थप जटिल बन्दै गएको छ। पछिल्लो हिंसामा हजारौँ परिवार विस्थापित भएका छन् भने इन्धन अभावका कारण द्वन्द्व प्रभावित क्षेत्रबाट सुरक्षित स्थानतर्फ जाने नागरिकलाई समेत समस्या भएको छ।
यसैबीच हुथी र साउदी पक्षबीचको सैन्य तनाव घटाउने कूटनीतिक प्रयास पनि चुनौतीमा परेको छ। क्षेत्रीय तनाव थप फैलिन नदिन वार्ता र कूटनीतिक पहलको आवश्यकता बढे पनि तत्काल युद्धविरामको स्पष्ट संकेत देखिएको छैन।

