काठमाडौं । काठमाडौंमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार काठमाडौं महानगरपालिका–३, गङ्गालाल अस्पताल नजिक बस र स्कुटर ठोक्किँदा बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनाबारे प्रहरीले थप विवरण संकलन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।