विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग

1.6k Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो समय देखिएका विपद्का घटनाको प्रभावकारी व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्यालसँग सिंहदरबारमा भेटवार्ता गर्दै विपद् व्यवस्थापनका विषयमा संसदीय समिति गठन गर्न ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार यसअघि सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्ने विषय उठेको थियो। संसद्को रोस्ट्रमबाट समेत यस विषयमा सम्बोधन भएको करिब तीन साता बितिसक्दा पनि समिति गठन हुन नसकेको भन्दै कांग्रेसले सभामुखको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले प्रस्ताव गरेको समिति सरकारको विरोध गर्ने उद्देश्यले नभई सरकारलाई थप जिम्मेवार र व्यवस्थित बनाउन तथा राज्यको पहुँच नपुगेका विपद् प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सहयोग गर्ने संयन्त्रका रूपमा रहने जनाएको छ।

नेता आङ्देम्बेले एक साताभित्रै उच्चस्तरीय संसदीय समिति गठन गर्न आग्रह गरिएको जानकारी दिए। विपद्का कारण स्थगित भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई पनि पुनः सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराइएको उनले बताए।

यसैगरी, भेटका क्रममा कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तल्लो तहदेखि केन्द्रीय तहसम्म हुने अधिवेशन तथा अन्य गतिविधिको कार्यतालिकाबारे पनि सभामुखलाई औपचारिक जानकारी गराइएको नेता आङ्देम्बेले बताए।

कांग्रेसले विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन राज्यका संयन्त्रबीच समन्वय आवश्यक रहेको बताउँदै आएको छ। उच्चस्तरीय संसदीय समिति गठन भएमा विपद् व्यवस्थापनसम्बन्धी सरकारी कामको अनुगमन, समन्वय र आवश्यक सुझाव दिन सहज हुने कांग्रेसको अपेक्षा छ।

सम्बन्धित समाचार