काठमाडौँ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शन गर्ने व्रतालु महिलाको बिहानैदेखि ठूलो भीड लागेको छ। भक्तजनको चापलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा विशेष व्यवस्थापन गरेको छ।
भक्तजनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरिएको कोषले जनाएको छ। दर्शनार्थीलाई सहज रूपमा मन्दिरसम्म पुग्ने व्यवस्था मिलाउन विभिन्न चार नाकाबाट छुट्टाछुट्टै दर्शन मार्ग सञ्चालनमा ल्याइएको छ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार मित्रपार्क, जयवागेश्वरी, सिनामङ्गल–विमानस्थल र पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि अलग-अलग मार्ग तय गरिएको हो। सम्बन्धित क्षेत्रबाट प्रवेश गरेका भक्तजनलाई मन्दिरका उत्तर, पश्चिम, पूर्व र दक्षिणतर्फका ढोकाबाट दर्शन गराउने व्यवस्था मिलाइएको छ।
मित्रपार्कबाट आउने दर्शनार्थीलाई उमाकुण्ड हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गराएर उत्तरतर्फको र्याम्प हुँदै दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ।
त्यसैगरी जयवागेश्वरीतर्फबाट आउने भक्तजनलाई दथुटोल, पाचा गणेश र अन्नपूर्ण भण्डार हुँदै आकाशे पुलमार्फत भुवनेश्वरी र नासलचोकतर्फ ल्याएर पश्चिमतर्फबाट दर्शन गर्ने व्यवस्था गरिएको छ।
सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउनेलाई तिलगङ्गा, राममन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुर्याई पूर्वी ढोकाबाट मन्दिर प्रवेश गराउने व्यवस्था छ। पिङ्गलास्थानबाट आउने भक्तजनका लागि चार शिवालय, पञ्चदेवल वृद्धाश्रम र चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै दक्षिणी मुहारबाट दर्शन गर्ने मार्ग तय गरिएको छ।
कोषका अनुसार बिहानको समयमा लाममा बसेका भक्तजनले करिब आधा घण्टामै पशुपतिनाथको दर्शन गर्न सक्ने अवस्था रहेको छ। वर्षाका बीच पनि व्रतालु महिलाहरू लाममा बसेर दर्शन गरिरहेका छन्।
तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि थप कडा पारिएको छ। भक्तजनको सुरक्षाका लागि करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न २४ धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवकसमेत खटिएका छन्।
दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको प्रबन्धसमेत गरिएको छ।
हरितालिका तीजका अवसरमा काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत देशका विभिन्न शिवालयमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।