रसुवा बाढीमा ३३ मोटरेबल पुल बगे, कुल लम्बाइ २ हजार ७९२ मिटर

1.2k Shares

काठमाडौं । रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ३७ वटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। तीमध्ये ३३ वटा पुल पूर्णरूपमा बगेका छन्। पूर्णरूपमा बगेका मोटरेबल पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर रहेको सरकारी प्रतिवेदनले देखाएको छ।

सरकारले गठन गरेको ‘रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार पुलको लम्बाइका आधारमा सबैभन्दा ठूलो क्षति नुवाकोटमा भएको छ।

नुवाकोटमा १४ वटा मोटरेबल पुल पूर्णरूपमा बगेका छन्। ती पुलको कुल लम्बाइ १ हजार ४८० मिटर छ। त्यस्तै, रसुवामा १३ वटा पुल बग्दा ५६६ मिटर, धादिङमा पाँच वटा पुल बग्दा ६१३ मिटर र गोरखामा एउटा पुल बग्दा १३३ मिटर बराबरको क्षति भएको छ।

संख्याका आधारमा नुवाकोट र रसुवामा पुल क्षतिको अवस्था लगभग उस्तै देखिए पनि नुवाकोटमा बगेका पुल तुलनात्मक रूपमा लामो भएकाले कुल लम्बाइका आधारमा क्षति बढी भएको हो। प्रतिवेदनअनुसार मोटरेबल पुलतर्फ नुवाकोटमा मात्रै कुल क्षतिको करिब ४०.५ प्रतिशत हिस्सा छ।

बाढीका कारण चार वटा मोटरेबल पुलमा आंशिक क्षतिसमेत पुगेको छ। ती पुलको कुल लम्बाइ २४० मिटर रहेको प्रतिवेदनमा उल्लेख छ।

मोटरेबल पुलसँगै बाढीले झोलुङ्गे पुलमा पनि ठूलो क्षति पुर्‍याएको छ। कुल ६८ वटा झोलुङ्गे पुलमा क्षति हुँदा १० हजार ६७० मिटर बराबरको संरचना प्रभावित भएको छ। यसले नदी वारपार गर्ने स्थानीय बासिन्दाको आवतजावत तथा विभिन्न बस्तीबीचको सम्पर्कमा गम्भीर असर पारेको छ।

बाढीबाट क्षतिग्रस्त केही स्थानमा अहिले झोलुङ्गे पुल पुनर्निर्माणको काम अघि बढाइएको छ। सडक तथा पुल पूर्वाधारमा भएको ठूलो क्षतिका कारण प्रभावित क्षेत्रमा यातायात र दैनिक आवतजावत सहज बनाउन अस्थायी तथा स्थायी संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुलसँगै सडक, जलविद्युत् आयोजना, व्यापारिक पूर्वाधार तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। पुल तथा सडक सञ्जालमा भएको क्षतिले प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाको काम थप चुनौतीपूर्ण बनाएको छ।

सम्बन्धित समाचार