एक दशकअघिसम्म मुरीका मुरी फल्ने भटमास अहिले तराईबाट किन्नुपर्ने अवस्था

1.2k Shares

तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती हुने भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिन थालेका छन्।

प्रोटिनको राम्रो स्रोत मानिने भटमास स्थानीय समुदायको खानपान र कृषि संस्कृतिसँग जोडिएको बाली हो। यसको हरियो कोसा उसिनेर तथा तरकारीका रूपमा खाने, पाकेको दाना भुटेर खाने र परम्परागत रूपमा किनिमा बनाउने चलन छ। भटमासबाट तेलसमेत उत्पादन गरिन्छ।

म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने तथा दोमट माटो भएका क्षेत्र भटमासखेतीका लागि उपयुक्त मानिन्थे। म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा भटमास प्रमुख बालीका रूपमा खेती हुने गरेको स्थानीय बताउँछन्। करिब एक दशकअघिसम्म मुरीका मुरी भटमास उत्पादन हुने क्षेत्र अहिले उत्पादन घटेर फाट्टफुट्ट खेतीमा सीमित भएको छ।

स्थानीयका अनुसार खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगका कारण भटमासलगायत रैथाने बालीको उत्पादन घट्दै गएको हो। म्याङलुङ नगरपालिका–२ का स्थानीय मनी खापुङले पहिले भटमाससँगै विभिन्न रैथाने बाली प्रशस्त उत्पादन हुने गरेकोमा अहिले खेती गर्ने तरिका परिवर्तन भएको बताए।

भटमाससँगै रैथाने जातका सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत घट्दै गएको स्थानीयको भनाइ छ। रैथाने बाली हराउँदै जाँदा स्थानीय उत्पादन मात्र नभई परम्परागत खानपान र त्यससँग जोडिएको ज्ञान तथा संस्कृति पनि प्रभावित हुन थालेको उनीहरूको भनाइ छ।

म्याङलुङबाहेक तम्फुला र बिस्कुनेलगायत क्षेत्रमा पनि भटमासखेती घटेको छ। विगतमा यही समयमा हरियो कोसा लागेका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले ती क्षेत्रमा भटमासका बोटसमेत देख्न मुस्किल हुने स्थानीय बताउँछन्। कतिपय किसानले भटमासको स्थानमा मकै लगाउन थालेका छन्।

कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले रासायनिक मलको प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादनमा कमी आएको बताए। माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगलगायत कारणले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्ने उनको भनाइ छ।

भटमास दलहनसँगै तेलहन बाली पनि हो। पोषणका दृष्टिले महत्वपूर्ण मानिने यसमा प्रशस्त प्रोटिन पाइन्छ। हरियो कोसा, पाकेको दाना, किनिमा तथा तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता बहुआयामिक छ।

स्थानीय उत्पादन घट्दै गएपछि म्याङलुङ आसपासका बासिन्दाले अहिले उपभोगका लागि तराईबाट ल्याइएको भटमास खरिद गर्नुपर्ने अवस्था आएको छ। यसले स्थानीय उत्पादनमा आएको गिरावटसँगै बाह्य क्षेत्रमाथिको निर्भरता बढ्दै गएको देखाउँछ।

रैथाने बाली कृषि उपज मात्र नभई स्थानीय समुदायको संस्कृति, खानपान, परम्परा र पहिचानसँग जोडिएका हुन्छन्। त्यसैले भटमासजस्ता लोपोन्मुख बालीको संरक्षणका लागि स्थानीय जात संरक्षण, किसानलाई उत्पादनमा प्रोत्साहन तथा परम्परागत ज्ञान र प्रयोगको प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार