काठमाडौँ । ने.क.पा. का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन्।
तीज पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बाढीले ठूलो विनाश निम्त्याएको दुःखद् परिस्थितिमा विगतका वर्षमा जस्तो उल्लासपूर्वक तीज मनाउने अवस्था नरहेको बताएका हुन्।
उनले विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका काममा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
‘दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गरौँ,’ प्रचण्डले सन्देशमा भनेका छन्।
उनले विपत्तिको समयमा देखाइने संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्नुपर्ने बताएका छन्। बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा कम गर्न राज्यसँगै राजनीतिक दल, सामाजिक संघसंस्था र आम नागरिकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
प्रचण्डले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई विपत्तिको यस घडीमा संयमित भएर तीज पर्व मनाउन अपिल गर्दै हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्।
उनको सन्देशमा यस वर्षको तीजलाई व्यक्तिगत उल्लासमा मात्र सीमित नगरी विपत्तिमा परेका नागरिकप्रति सहानुभूति, सहयोग र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसरका रूपमा लिन आग्रह गरिएको छ।