एमसिसी परियोजनाको सीमापार प्रसारण लाइन निर्माण पूरा, सञ्चालनको तयारी

1.4k Shares

पश्चिम नवलपरासी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत नेपाल–भारत सीमासम्म जोड्ने सीमापार विद्युत् प्रसारण लाइनको निर्माण कार्य नौ महिनामै सम्पन्न भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले चार सय केभी न्यु बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण पूरा गरेको हो।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३, सूर्यबस्तीमा निर्माणाधीन सबस्टेसनदेखि भारत सीमासम्म ५३ वटा टावर निर्माण गरिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो। प्रसारण लाइनको शिलान्यास गत मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा गर्नुभएको थियो।

निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, अमेरिका र एमसिसीबीचको साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो। एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले यसलाई नेपालको ऊर्जा व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सीमापार विद्युत् सञ्जाल विस्तारसँगै नेपालले विद्युत् व्यापारबाट थप लाभ लिन सक्ने बताउनुभयो। अब प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् आदानप्रदानका लागि आवश्यक स्वीकृति तथा अन्य प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रसारण लाइन निर्माणका क्रममा हालसम्म करिब एक अर्ब २४ करोड रुपियाँ मुआब्जा वितरण गरिएको छ। केही जग्गाको मुआब्जा वितरण भने अझै प्रक्रियामा रहेको एमसिए–नेपालले जनाएको छ।

एमसिसी परियोजनाअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ। साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोगसमेत प्रदान गर्ने कार्यक्रम रहेको छ। न्यु बुटवल–भारत सीमासम्मको प्रसारण लाइन परियोजनाअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो खण्ड हो।

सम्बन्धित समाचार