काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित आठ जिल्लामा ती शव फेला परेका हुन्। सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै ३६४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ। गोरखामा ७७, धादिङमा ७० तथा तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीको विवरण छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये १ हजार २३० जनाको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ।
पहिचान हुन नसकेका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ।
प्रहरीका अनुसार अझै १ हजार ३३९ शवको पहिचान हुन बाँकी छ। ती शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ, जसबाट आफन्तले हराइरहेका व्यक्तिसँग मिलान गर्न सक्ने व्यवस्था गरिएको छ।
यसैबीच बाढीमा परी अझै ४ हजार ८९ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। बेपत्ताको खोजी तथा उद्धार कार्य प्रभावित विभिन्न क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ।
विपद्पछि खोजी, उद्धार तथा सहायता कार्यका लागि मात्रै ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय तथा विभिन्न सरकारी संयन्त्रले समेत खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक तथा आवासीय संरचनामा समेत व्यापक क्षति पुर्याएको छ।
बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ।