काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। देशभरबाट संकलन गरिएका सुझावका आधारमा पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टीको आगामी दिशा, संगठन पुनर्गठन तथा नेतृत्वसम्बन्धी विषय समेटिएका थिए।
कार्यदलले सातवटै प्रदेशसहित गैरभौगोलिक क्षेत्रबाट समेत सुझाव संकलन गरी त्यसका आधारमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी पोखरेललाई दिएको थियो। सोहीअनुसार पोखरेलले तयार पारेको करिब ६५ पृष्ठ लामो मस्यौदा प्रतिवेदन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’लाई बुझाएका थिए। थापाले उक्त प्रतिवेदन अध्यक्ष ओलीसमक्ष प्रस्तुत गरेका थिए।
तर, प्रतिवेदनको विषयवस्तुप्रति ओली असहमत भएपछि त्यसलाई पुनर्लेखन गर्न निर्देशन दिइएको छ। अब कार्यदलका संयोजक थापा स्वयंले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेका छन्।
देशका विभिन्न प्रदेश तथा संगठनबाट आएका सुझावमा पार्टीको पुनर्गठन, संगठनात्मक सुधार र नेतृत्व व्यवस्थापनका विषयमा विभिन्न धारणा प्रस्तुत भएका छन्। केही सुझावमा नेतृत्वलाई आवश्यकताअनुसार सम्मानजनक रूपमा जिम्मेवारी हस्तान्तरण वा बहिर्गमनको बाटो खोल्नुपर्ने विषयसमेत उठाइएको बताइएको छ।
यससँगै एमालेभित्र पार्टीको आगामी नेतृत्व, संगठनको पुनर्संरचना र विगतका कमजोरीको समीक्षा कसरी गर्ने भन्ने विषयमा बहस तीव्र बनेको छ। कार्यदलले प्राप्त सुझावहरूलाई समेटेर नयाँ प्रतिवेदन तयार गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकमा त्यसबारे छलफल हुने तयारी छ।
एमाले अध्यक्ष ओलीले आगामी असोज ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाइसकेका छन्। त्यसअघि कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।