प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत, मन्त्रिपरिषद्ले गर्‍यो ७ निर्णय

1.3k Shares

काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका जाने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक गर्दै २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिए।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमितिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ। मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ।

बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। आयोगका सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाल नियुक्त भएका छन्।

यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

यससँगै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणसहित प्रशासन, गरिब परिवार पहिचान, मिटरब्याज नियन्त्रण र प्रदेश प्रशासनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।

 
 
 
सम्बन्धित समाचार