रसुवामा बाढी : गोसाइँकुण्डका ५४५ र उत्तरगयाका ८७७ जना सम्पर्कविहीन

1.6k Shares

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका प्रभावित क्षेत्रमा जनजीवन अझै सामान्य बन्न सकेको छैन । जिल्लाका विभिन्न स्थानमा स्थलमार्गबाट आवतजावत अवरुद्ध हुँदा बाढीपीडितलाई हेलिकप्टरमार्फत खाद्यान्न तथा राहत सामग्री पुर्‍याएर जीवन धान्नुपर्ने अवस्था छ ।

बाढीबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको स्थानीय तहले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढीमा परी ५४५ जना सर्वसाधारण सम्पर्कविहीन छन् ।

बाढी प्रभावितलाई काठमाडौँस्थित एलो गुम्बा र मुस्ताङ गुम्बामा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अध्यक्ष तामाङले विस्थापित परिवारलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थायी जग्गाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार बाढीले गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय भवन, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरे र स्याफ्रुवेंशी स्वास्थ्य चौकीलगायतका संरचना बगाएको छ । गाउँपालिकाको नियमित प्रशासनिक काम अहिले जिल्ला सदरमुकाम धुञ्चेबाट सञ्चालन भइरहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष, दुई वडा अध्यक्ष र तीन वडा सदस्यसमेत सम्पर्कविहीन रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“बाढीका कारण वेपत्ता हुनुभएका गाउँवासीका आफन्त काजकिरिया खर्च माग्न आइरहनुभएको छ । मृत्यु भएको प्रमाण नपाएसम्म हामीले सहयोग गर्ने अवस्था छैन । वेपत्ताको खोजी तत्कालै गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले भदौ १० गते आएको बाढीलाई नेपालको हालसम्मकै ठूलो विपत्तिमध्ये एक भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं. २ को ठूलो भूभागको नामनिशाना नै छैन भने वडा नं. ५ को अधिकांश क्षेत्र क्षतिग्रस्त भएको छ ।

कैलाश मानसरोवर जाने मार्ग तथा प्रमुख पर्यटकीय क्षेत्रसमेत रहेकाले पर्यटक र तीर्थयात्रुसमेत बाढीको चपेटामा परेको उहाँले बताउनुभयो । रसुवागढी भन्सार क्षेत्रमा समेत मानिस, सवारीसाधन र मालसामान बाढीले बगाएको उहाँको भनाइ छ ।

उत्तरगयामा ८७७ जना बेपत्ता

उत्तरगया गाउँपालिकामा बाढीका कारण १२ जनाको मृत्यु भएको र ८७७ जना सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रसुवामा बुझाइएको प्रारम्भिक प्रतिवेदनअनुसार वडा नं. १ देखि ५ सम्म गरी ८८९ जना प्रभावित भएका छन् । मृत्यु हुनेमा वडा नं. २ का दुई, वडा नं. ३ का एक, वडा नं. ४ का दुई र वडा नं. ५ का सात जना छन् ।

सम्पर्कविहीन हुनेमा वडा नं. १ का ५७८, वडा नं. २ का ७५, वडा नं. ३ का ३०, वडा नं. ४ का ७६ र वडा नं. ५ का ११८ जना रहेको गाउँपालिकाले जनाएको छ ।

शिक्षक, स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन

बाढीमा उत्तरगया गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकसमेत प्रभावित भएका छन् । जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने, अनमी दिनिसा शाही र कार्यालय सहयोगी रेप्पा तामाङ सम्पर्कविहीन छन् ।

सूचना प्रविधि अधिकृत जनक आचार्यको भने मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ ।

त्यस्तै मिननाथ न्यौपाने, रमेश लामिछाने, सञ्जीव तामाङ, नारायणबहादुर थापा, अजयकुमार यादव, विद्यालय नर्स ममता श्रेष्ठ, बालविकास शिक्षक मनमाया तामाङ र शिक्षक सुकबहादुर तामाङसमेत बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

६१८ घर पूर्ण रूपमा नष्ट

बाढीका कारण उत्तरगया गाउँपालिकामा ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ घर पूर्ण रूपमा नष्ट भएका छन् । थप २२ वटा टहरा तथा अन्य संरचनामा क्षति पुगेको छ ।

सार्वजनिक संरचनातर्फ गाउँपालिकाको कार्यालय भवन, वडा नं. १ को कार्यालय, सामुदायिक स्वास्थ्य एकाइ, कृषि तथा पशु सेवा सम्पर्क केन्द्र र आँखा केन्द्रमा क्षति पुगेको छ । चिप्लेटी माध्यमिक विद्यालय, मालिका देवी माध्यमिक विद्यालय र ट्रिनिटी बोर्डिङ स्कुलका भवनसमेत प्रभावित भएका छन् ।

सडक, पुल र सञ्चार सेवा अवरुद्ध

बाढीले बेत्रावती–मैलुङ सडक खण्ड पूर्ण रूपमा ध्वस्त पारेको छ । उत्तरगया गाउँपालिका क्षेत्रमा रहेका तीनवटा पक्की पुल र तीनवटा झोलुङ्गे पुल बगाएपछि वडा नं. १, २ र ३ मा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

सडक सम्पर्क टुट्दा राहत सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । वडा नं. १ मा विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध रहेको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ ।

४९२ जनालाई होल्डिङ सेन्टरमा राखियो

बाढी प्रभावित ४९२ जनालाई गाउँपालिकाका विभिन्न सातवटा होल्डिङ सेन्टरमा राखिएको छ । हालसम्म ९४१ घरधुरीलाई राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार ११५ भन्दा बढी संघ–संस्था तथा व्यक्तिबाट राहत तथा सहयोग प्राप्त भएको छ ।

आमाछोदिङ्मोमा स्थलमार्ग बन्द

आमाछोदिङ्मो गाउँपालिकामा पनि बाढीका कारण स्थलमार्गबाट आवागमन पूर्ण रूपमा बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु राईका अनुसार खाद्यान्न तथा राहत सामग्री हेलिकप्टरबाट ल्याउनुपर्ने अवस्था छ ।

हाल गाउँपालिकामा सबैभन्दा ठूलो अभाव खाना पकाउने ग्यासको रहेको उहाँले बताउनुभयो । बाढीले गाउँपालिकाका सबै वडामा क्षति पुर्‍याएको छ ।

गाउँपालिकाका १६८ घरधुरीका १९५ जना हालसम्म सम्पर्कविहीन रहेको र दुई जनाको शव फेला परेको राईले जानकारी दिनुभयो ।

कालिकामा घर र खेतीबालीमा क्षति

कालिका गाउँपालिकाको वडा नं. १ बाढीबाट प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार १३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २८ परिवार आंशिक रूपमा विस्थापित भएका छन् ।

बाढीले मकै, आलु, फापरलगायतका खेतीबालीमा समेत ठूलो क्षति पुर्‍याएको छ । प्रभावित परिवारको घरमै पुगेर राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

खोजी तथा उद्धार जारी

जिल्ला प्रशासन कार्यालय, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले जिल्लामा उद्धारको प्रारम्भिक चरण पूरा भए पनि बेपत्ताको खोजी कार्य जारी रहेको बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदी किनार, प्रभावित बस्ती तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा बेपत्ताको खोजी गरिरहेको छ ।

रसुवामा बाढीले मानव बस्ती, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, सञ्चार तथा विद्युत् संरचनामा व्यापक क्षति पुर्‍याएपछि तत्कालीन उद्धारसँगै विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माण चुनौतीका रूपमा देखिएको छ ।

सम्बन्धित समाचार