काठमाडौं । उद्योगमन्त्री गौरी कुमारीले ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। उपभोक्ता महासंघका अध्यक्ष ज्योति बानियाँले मन्त्रीलाई उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष बानियाँले बजारमा देखिएको ग्यास अभाव कृत्रिम रूपमा सिर्जना गरिएको दाबी गरेका छन्। तर, मन्त्रीको अभिव्यक्तिबाट समस्याको वास्तविक कारण पहिचान गर्न नसकेको देखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
बानियाँले ग्यास अभावको परिणामभन्दा त्यसको कारण पहिल्याउन सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। उनले कृत्रिम अभाव, उपभोक्तामाथि हुने लुट तथा ग्यास आपूर्तिसँग जोडिएको भू–अर्थराजनीतिक पक्षबारे सरकारको बुझाइ स्पष्ट नभएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिप्पणी सुन्दा तपाईंहरूलाई अझै कृत्रिम अभाव, लूटखोर, भू–अर्थराजनीतिको बोध भएजस्तो लागेन।’
सरकारको बुझाइ र अभिव्यक्तिका कारण उपभोक्ताले थप समस्या र हण्डर व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बानियाँले चिन्ता व्यक्त गरेका छन्।
ग्यास अभावको दीर्घकालीन समाधानका लागि उद्योगीलाई कारबाही गर्ने चेतावनीभन्दा आपूर्ति प्रणाली, बजार व्यवस्थापन र अभाव सिर्जना हुनुका कारण पहिचान गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।