बाँके । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई पूरै नदी वारपार हुने गरी निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।
हाल सिधनियाघाटमा २०६२ सालमा निर्माण गरिएको ३५० मिटर लम्बाइको एक लेनको पक्की पुल सञ्चालनमा छ । सोही स्थानमा अहिले ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्को पुल निर्माण भइरहेको छ ।
तर, निर्माणाधीन पुलले राप्ती नदीको पूरै पानी बग्ने भूभाग समेट्न नसकेको भन्दै स्थानीयले थप ४४० मिटर पुल निर्माण गर्न माग गरेका हुन् । स्थानीयका अनुसार सुरुमै तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा नदी वारपार गर्न आवश्यक पुलको लम्बाइ १ हजार १४० मिटर निर्धारण गरिएको थियो ।
राप्तीसोनारी–६ का स्थानीय प्रदीपकुमार पौडेलले पुल निर्माणको प्रारम्भिक चरणमै त्रुटि भएको बताउनुभयो । उहाँका अनुसार प्राविधिकले डीपीआर तयार गर्दा नदीको वास्तविक बहाव क्षेत्र अध्ययन गरी १ हजार १४० मिटर पुल आवश्यक पर्ने निष्कर्ष निकालेको भए पनि अहिले ७०० मिटरमै पुल निर्माण भइरहेको छ ।
स्थानीयसँग पर्याप्त छलफल र सहभागिता नगराई डीपीआर तयार गरिएकाले अहिले समस्या देखिएको पौडेलको भनाइ छ । उहाँले जसरी भए पनि पुलको कुल लम्बाइ १ हजार १४० मिटर नै कायम गरी निर्माण गर्नुपर्ने माग गर्नुभयो ।
अर्का स्थानीय कबीर बुढाथोकीले राप्ती नदी सिधनियाघाटसम्म पूर्वबाट बगेर आएपछि त्यहाँबाट मोडिएर पुनः पूर्वतिरै बग्ने भएकाले बर्सेनि नदीले आसपासका जमिन कटान तथा डुबानमा पार्ने गरेको बताउनुभयो । त्यसैले निर्माणाधीन पुललाई नदीको सम्पूर्ण बहाव क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
राप्तीसोनारी–६ की वडा सदस्य लक्ष्मी थारुले ७०० मिटरको पुल निर्माण गरेपछि बाँकी ४४० मिटर क्षेत्रमा ड्याम बनाउने सरकारको योजना उपयुक्त नभएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा खेतीयोग्य बगर जमिन रहेको र स्थानीय किसानले विभिन्न फलफूलसमेत खेती गर्दै आएका छन् ।
ड्याम निर्माण गर्दा खेतीयोग्य जमिनमा असर पर्ने र त्यसले पुल तथा आसपासको क्षेत्रमा समेत थप समस्या निम्त्याउन सक्ने स्थानीयको चिन्ता छ । राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले २०७० र २०७४ सालमा राप्ती नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्मरण गर्दै नदी कटान तथा डुबानबाट स्थानीयलाई जोगाउन पनि पुल पूरै नदी बहाव क्षेत्रसम्म निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुलको पूरा भाग १ हजार १४० मिटर नै निर्माण गर्नुपर्दछ । ७०० मिटरमा निर्माणाधीन पुल छ, त्यसपछि बाँकी ४४० मिटरमा रिभर ट्रेनिङ बनाउने भनिएको छ । यसले यहाँका स्थानीयको समस्या समाधान नगरेर झन् डुबान र कटान हुने सम्भावना देखिन्छ ।”
डुडुवा–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि ७०० मिटरको मात्रै पुल निर्माण गर्दा यसको उद्देश्य पूरा नहुने बताउनुभयो । बाँकी ४४० मिटर क्षेत्रमा ड्याम बनाउँदा भविष्यमा थप जोखिम निम्तिन सक्ने र स्थानीयले अपेक्षित सेवा–सुविधा नपाउने भएकाले पूरै लम्बाइमा पुल निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
हाल निर्माणाधीन ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ । भ्याटसहित १ अर्ब १९ करोड रुपैयाँमा २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०८४ असार ४ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्बन्धित कार्यालयले जनाएको छ ।