राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत केसीविरुद्ध भ्रष्टाचार मुद्दा

2.1k Shares

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीले झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमीडिएट एजुकेशन, युपीबाट जारी भएको हाईस्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएको देखिएको छ ।

आयोगका अनुसार नियुक्तिपछि पनि उनले सोही प्रमाणपत्र पटक–पटक बढुवा तथा पदोन्नतिका लागि पेस गरेका थिए । त्यसका आधारमा उनी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली प्रमाणपत्रका आधारमा बढुवा भई केसीले हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित समाचार