काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले भोटेकोसी बाढीपछि विस्थापित महिला र बालबालिकाको सुरक्षा चुनौती बढेको बताएकी छन्। प्रतिनिधिसभाको बुधबारको आकस्मिक समयमा बोल्दै धितालले बाढीपीडितका लागि बनाइएका होल्डिङ सेन्टरलाई सुरक्षित बनाउन सरकारसँग माग गरिन्।
“भोटेकोसी उर्लिँदा पाँच जिल्ला शोकमा छन्। चार हजार होल्डिङ सेन्टरमा आश्रित छन्। तर महामारीको जोखिम छ। यी सबै संकटभित्र समाधान खोज्नुपर्छ,” उनले भनिन्।
उनले बाढीपछि महिला र बालबालिकालाई अपरिचित व्यक्तिसँगै राख्दा उनीहरूको सुरक्षामा प्रश्न उठेको बताइन्। महिला तथा बालबालिकाको अस्मिताको सुरक्षा राज्यको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ छ।
“महिला र बालबालिकाको सुरक्षाको चुनौती बढेको छ। अपरिचित व्यक्तिसँग महिला र बालबालिकालाई सँगै राख्दा उनीहरूको सुरक्षामा प्रश्न उठेको छ। उनीहरूको अस्मिताको सुरक्षाको प्रश्न छ,” धितालले भनिन्।
उनले महिला र बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवारसँग राख्ने व्यवस्था गर्नुपर्ने बताइन्। साथै, उनीहरूलाई जोखिम र हिंसाबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
धितालले विपत्तिपछिको राहत तथा पुनःस्थापनाका क्रममा महामारीको जोखिम, महिला र बालबालिकाको सुरक्षा तथा मानवीय संवेदनशीलतालाई समान रूपमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।