काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
भदौ २४ लाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले वास्तविक दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बताएका हुन् ।
भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टाभित्रै भएको विध्वंसले गहिरो अध्ययन अनुसन्धानको माग गरेको बताए । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
उनले गएको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको दाबी गरे । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि नबढेको भन्दै उनले आपत्ति जनाए ।
भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ गतेको घटनाले सम्बोधन नगरेको प्रचण्डको भनाइ छ । बरु उक्त घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनले जिकिर गरे ।
प्रचण्डले भदौ २४ को घटनामा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको दाबी गरेका छन् । वर्तमान भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर घटनाको अन्तर्राष्ट्रिय स्तरबाट समेत अध्ययन–अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।