बाढी प्रभावित जिल्लामा समन्वय गरेर अधिवेशन गर्ने, कांग्रेस महाधिवेशन असोज १६ देखि

1.6k Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

यसअघि पनि कांग्रेसले सोही मितिमा महाधिवेशन गर्ने गरी विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिपछि प्रभावित क्षेत्रसहित विभिन्न जिल्लाबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै अधिवेशनका अन्य कार्यक्रमको मिति परिमार्जन गरिएको हो ।

नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । स्थानीय अनुकूलताअनुसार यी दुई दिनमध्ये उपयुक्त दिनमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।

देशभरका ६ हजार ७ सय ४३ वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।

त्यसैगरी गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका छ ।

कांग्रेसका अनुसार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ ।

बाढी प्रभावित जिल्लामा स्थानीय तहसँग समन्वय

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित पार्टीका स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन क्यालेन्डर सार्वजनिक गरिएको हो ।

१५औँ महाधिवेशनको कार्यतालिका

  • असोज ३–४ गते : गाउँ–नगर वडा अधिवेशन
  • असोज ७ गते : गाउँपालिका/नगरपालिका अधिवेशन
  • असोज १० गते : प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
  • असोज १६–१९ गते : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन
  • असोज १० गतेभित्र : बाँकी जनसम्पर्क समितिका देशहरूको अधिवेशन सम्पन्न
सम्बन्धित समाचार