काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई अझै समय रहेको भन्दै सुधारिन आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनको अपमान नगर्न र पुरानो सोच त्यागेर नयाँ नेपाल निर्माणमा लाग्न चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गुरुङले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेर इतिहास बदल्ने प्रयास नगर्न आग्रह गरे । उनले जेनजी आन्दोलनको अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान गर्नु भएको दाबी गरे ।
‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।’
गृहमन्त्री गुरुङले आफूहरू सत्ताको लोभमा नभई जनताको चाहनाअनुसार काम गर्न सरकारमा आएको बताए । उनले पुरानो शैलीको भाषण गर्ने संस्कार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
‘न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ,’ उनले भने, ‘अझै पनि समय छ सुध्रिनुस् । त्यही पुरानो सोचले नयाँ नेपाल तपाईंले बनाउन सक्नुहुन्न ।’
गृहमन्त्री गुरुङले आफूलाई दिइएको जिम्मेवारीलाई जनताको अपेक्षासँग जोड्दै भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाए ।
‘इमानदारीका साथ छाती चौडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने ।
उनले आफू मन्त्री पदमा बसेर जनताको पक्षमा काम गर्न आएको बताउँदै सुशासन स्थापित गर्ने जिम्मेवारी पूरा गर्ने दाबी गरे ।
गृहमन्त्री गुरुङले देशमा फेरि गोली चलाउने अवस्था आउन नदिने दाबी गरेका छन् । उनले जेनजी आन्दोलनको आशा मर्न नदिने र सुशासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले रास्वपा सभापति रवि लामिछानेले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्ने बताए ।
‘जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर भन्नुभएको छ,’ उनले भने ।
गुरुङले आफू मन्त्री, दाइ, भाइ र छोरा भएको उल्लेख गर्दै अर्को गोली चल्नका लागि कसैले हिम्मत गर्न नसक्ने दाबी गरे ।
गृहमन्त्री गुरुङले आफूहरू पुरानो शैलीको भाषण गर्ने संस्कार परिवर्तन गर्न सरकारमा आएको बताए । उनले नागरिकलाई दुःख नहोस् भनेर निरन्तर काम गरिरहेको दाबी गरे ।
‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन् । जमानादेखि चिल्लाचिल्ला भाषण हामीले देखिसकेको हो । जमानादेखि हाम्रो आमाबुवाले भोगिसकेको पनि हो,’ उनले भने ।
उनले अहिले काम गर्ने नेताहरू चुनेको उल्लेख गर्दै सरकारको प्राथमिकता जनताको काम भएको बताए ।
‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन । आज हामीले कति जना नागरिकलाई दुःख नहुन दिनका लागि काम गर्यौँ भनेर मात्रै हामी काम गर्छौं,’ उनले भने ।
गुरुङले जनताको कामबाट थाकेपछि मात्रै सुत्ने बताउँदै घडीको टिकटिक हेरेर काम नगर्ने धारणा व्यक्त गरे ।
गृहमन्त्री गुरुङले आफूलाई सुशासन स्थापित गर्ने जिम्मेवारी दिएको भन्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवाद दिएका छन् ।
उनले तत्कालीन सरकारले सुशासनको पक्षमा उभिएका युवामाथि गोली चलाएको आरोप लगाउँदै अहिलेको सरकारले जेनजीका माग सम्बोधन गर्ने गरी काम गरिरहेको बताए ।
गुरुङले आफूले पाएको जिम्मेवारी जनताको विश्वास र अपेक्षाअनुसार पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।