काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोको टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले सोमबार विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरेको अपरेसनका क्रममा १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन् ।
उनीहरूको साथबाट ट्रामाडोलका ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल तथा एक थान स्कुटर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको सम्बन्ध, लागुऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्यबारे थप अनुसन्धान भइरहेको छ ।
बरामद लागुऔषध तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।