प्रधानमन्त्री अक्टोबर २२ मा अमेरिका जाने, जलवायु परिवर्तनको मुद्दा उठाउने

1.1k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शाहले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री असोज ६ गते अमेरिका प्रस्थान गरेर असोज ९ गते स्वदेश फर्किने तय भएको छ । यसपटक उनी महासभामा सम्बोधन गर्नका लागि मात्रै अमेरिका जाने भएका हुन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएपछि त्यसको पृष्ठभूमिमा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा सहभागी हुन लागेका हुन् ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री सहभागी हुने तयारी थियो । तर भोटेकोशी बाढीबाट भएको ठूलो क्षति र त्यसले सिर्जना गरेको मानवीय तथा भौतिक संकटपछि प्रधानमन्त्री शाह आफैं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने निर्णय भएको हो ।

प्रधानमन्त्रीको महासभा सहभागिता यसपटक औपचारिक कूटनीतिक भ्रमणभन्दा पनि विपद् र जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा जोड दिने उद्देश्यमा केन्द्रित हुने देखिएको छ ।

नेपाल जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा रहेको मुलुकमध्ये एक हो । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमताल तथा हिमनदीमा देखिएको परिवर्तन र त्यसबाट उत्पन्न बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण नेपालले पछिल्ला वर्षमा ठूलो क्षति व्यहोर्दै आएको छ ।

भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति भएको छ ।

यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री शाहले सम्बोधन गर्दा नेपालले भोगिरहेको जलवायुजन्य विपद्, हिमाली क्षेत्रको जोखिम, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताका विषय उठाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण छोटो रहनेछ । उनी असोज ६ गते न्यूयोर्क जाने र असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार