काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले एक करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, स्वास्थ्योपचार तथा सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सरकारलाई उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए ।
रकम हस्तान्तरणपछि महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस बाढीपहिरोबाट प्रभावित सम्पूर्ण नागरिकको साथमा रहेको बताए । उनले विपद्का कारण सुरुङलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए ।
‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने ।
उनले त्रिशूली र भोटेकोशी नदी आसपासका प्रभावित नागरिकको उद्धार तथा बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे ।
त्यस्तै, राहत वितरण प्रक्रियालाई पारदर्शी बनाउन तथा आगामी दिनमा विपद् व्यवस्थापनको समग्र प्रणालीलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउन पनि पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले उपलब्ध गराएको उक्त रकम प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनर्स्थापना कार्यमा खर्च गरिने जनाइएको छ ।