काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता व्यक्त गरेका छन्।
रास्वपाका अनुसार रुबियोले नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। विपद्का कारण प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी रहेका बेला अमेरिकी पक्षले थप सहयोगको प्रतिबद्धता जनाएको हो।
वार्ताका क्रममा लामिछानेले विपद्पछि खोजी, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाका लागि समेत सरकार प्रतिबद्ध रहेको बताएका थिए।
यस कठिन परिस्थितिमा अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्। उनले विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्रीसँगको कुराकानीलाई विपद्का बेला नेपाल र अमेरिकाबीचको सहयोग तथा समन्वयलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।